Trending
बिएम फाउण्डेशनले ५० महिलाको निःशुल्क पाठेघरको चेकजाँच     |     कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग मन्त्री पौडेलको आग्रह     |     नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने     |     सञ्चालक समिति सदस्यमा डा.बराल र सापकोटा मनोनित :गंगालाल अस्पताल     |     काठमाडौंमा बढ्दाे वायु प्रदुषण     |     नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी     |     अंग प्रत्यारोपण गर्ने चिकित्सकका दुई संस्थाबीच एकता     |     काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान     |     अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण राम्रो बनाउनु पर्दछः मुख्यमन्त्री कँडेल     |     नारायणी अस्पतालमा ‘ल्याब इन्फर्मेसन सेन्टर’ सञ्चालनको तयारी     |    
Uncategorized

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

१९ जेष्ठ २०८१ १२:१९
टीकापुर  १९ जेठ । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन् । महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो ।
टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउँछिन। “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उनी भन्छिन, “यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिनेलगायत काममा पुरुष सहयोगी बन्नुपर्छ ।”
महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउँद्धिन । “कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,” उनले भनिन्, “शिक्षकसँग पनि भन्न आँट आउँदैन, केटी साथी वा महिला शिक्षकसँग मात्र भन्न सक्छौँ ।”
महिनावारीबारे सङ्कोच नमानी कुरा गर्ने वातावरण घर, समुदाय र विद्यालयमा हुनुपर्छ । जनता राष्ट्रिय मावि सोनाहाफाटाकी आकृति रावलले महिनावारीको समयमा महिलालाई भेदभाव हुने गरेको बताउँछिन । “महिनावारी हुँदा आवश्यक लुगा तथा सामानको जोहो गर्न घरका पुरुषको सहयोग पाइनुपर्छ । बुबा तथा दाजुभाइले प्याड किनिदिनुपर्ने हुन्छ”, उनले भनिन् “घरबाटै सहयोग सुरु हुनुपर्छ । पसलमा प्याड किन्ने वातावरण अनिवार्य चाहिन्छ ।”
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताइन् । “आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ”, उनले भनिन्, “बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ ।”
‘न्यू लाइट एजुकेसन होम’की ओजश्वी भाट महिनावारी हुनु सन्तान जन्माउन वा श्रृष्टि चलाउनका लागि सक्षम हुनु हो भन्ने कुरा छोरीहरुलाई पनि बुझाउनुपर्ने बताइन् । “महिनावारीसँगै शरीरमा आउने शारीरिक, मानसिक परिवर्तनबारे ज्ञान दिनुपर्छ, यस्तो बेलामा घर तथा विद्यालयको वातावरण छोरीका लागि सहज हुनुपर्छ”, उनी भन्छिन्, “यसमा परिवार र विद्यालय जिम्मेवार बन्नुपर्छ । महिनावारीका समयमा तनावमा हुन्छौँ । यस्तो बेलामा पढाइमा रुचि नलाग्न सक्छ ।”
टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी महिनावारीका नाममा समाजमा अपनाइएका गलत अभ्यास रोक्न आवश्यक भएको बताए । “हरेक घरमा महिनावारी भएका महिलालाई सघाउने, सहज वातावरण बनाइदिने कार्यमा पुरुषको साथ आवश्यक छ”, उनले भने, “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले महिनावारीमा हुने समस्या र समाधानका उपायबारे समुदाय स्तरमै सिकाउनुपर्छ ।”
महिनावारी स्वच्छता महिलाको स्वास्थ्य, प्रजननसँग जोडिएको कुरा भएकाले स्वास्थ्य र चेतनामा सबै जिम्मेवार बन्नुपर्ने हुन्छ । वरिष्ठ नर्सिङ निरीक्षक कल्पना खड्का कुनै रमाइलो दिन, जन्मदिनलगायतका अवसरमा छोरीहरुलाई स्यानिटर प्याड गिफ्ट दिने पुरुष हुनुपर्ने बताउँछिन् । “महिलालाई प्याड किनेर लगिदिने पुरुष निकै कम भेटिन्छन्”, उनले भनिन् “प्याड किन्न पैसो चाहिन्छ, यो पुरुषको स्वामित्वमा हुन्छ, आवश्यक पोषिलो खानेकुरा जुटाइदिन तथा घरायसी काममा सघाउन पुरुष सहयोगी हुनैपर्छ ।”