Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
ट्रेन्डिङ

गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका

५ पुष २०८२ २०:४४

काठमाडौँ, ५ पुस । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधारसँगै मानव पूँजी विकासलाई प्राथमिकतामा राख्दै स्वास्थ्य प्रयोगशालाका प्राविधिकहरूका लागि गुणस्तर मापदण्ड सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ।

महानगरपालिकाले ३२ वटै वडालाई समेट्दै तालिमलाई दुई चरणमा सञ्चालन गरेको हो। पहिलो चरणमा वडा नम्बर १ देखि १६ सम्म र दोस्रो चरणमा १७ देखि ३२ सम्मका प्रयोगशाला प्राविधिकहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वागमती प्रदेश स्वास्थ्य प्रयोगशाला तथा राष्ट्रिय क्षयरोग केन्द्रका विज्ञ प्रशिक्षकहरूले तालिम दिएका थिए।

तालिममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनस्वास्थ्य गुणस्तर नीति, प्रक्रिया र अभ्यास, बिरामीलाई नमूना संकलनका लागि तयार पार्ने विधि, सम्भावित त्रुटि र जोखिम पहिचान, गुणस्तर नियन्त्रण प्रक्रिया, क्षयरोगको नमूना संकलन र परीक्षण, प्रयोगशालाको स्वच्छता तथा सरसफाइ, हानीकारक फोहर व्यवस्थापन, उपकरणको सुरक्षित प्रयोग, जनशक्तिबीचको सहकार्य लगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको थियो। साथै प्रयोगशालामा आवश्यक उपकरणको छनोट, ढुवानी, भण्डारण, प्रयोग, नमूना परीक्षण तथा रिपोर्ट निर्माणसम्बन्धी विषय पनि समावेश गरिएको थियो।

महानगरपालिकाले हाल सबै ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। हरेक वडामा स्थापना गरिएका स्वास्थ्य प्रयोगशालाबाट मधुमेहसहित रगत, पिसाब तथा खकारबाट क्षयरोग परीक्षणजस्ता आधारभूत स्वास्थ्य जाँच सेवा उपलब्ध हुँदै आएका छन्।

स्वास्थ्य विभाग प्रमुख दिपककुमार के.सी. ले वडा स्तरमै अस्पतालसरह सेवा प्रदान गर्ने लक्ष्यसहित महानगर अघि बढिरहेको बताउँदै प्रयोगशाला सेवा बिहानैबाट सञ्चालन गर्दै लगिने जानकारी दिए। ‘डी’ र ‘ई’ समूहका जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरिएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाले ‘डी’ समूहको प्रयोगशाला सञ्चालनको तयारी गरिरहेको उनले बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर नियन्त्रण तथा तालिम शाखाका उपप्रमुख मेडिकल टेक्नोलोजिष्ट सन्तोष सुवेदीले काठमाडौँ महानगरपालिकाका प्रयोगशालाको गुणस्तर कायम गर्न र जनशक्तिको क्षमता अभिवृद्धि गर्दै कानुनी अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सहयोग गर्न तत्पर रहेको बताए।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका ल्याब टेक्निसियन ईश्वरीप्रसाद भुषालले महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवामा थालेको यो अभ्यास अनुकरणीय रहेको उल्लेख गरे। तालिमका मुख्य प्रशिक्षक शंकर शाहीले तालिमबाट प्राप्त ज्ञान र सिपको व्यवहारिक प्रयोगमा नियमित निगरानी आवश्यक रहेको सुझाव दिए।

महानगरपालिकाका स्वास्थ्य प्रयोगशाला इञ्चार्ज राधिका कुइँकेलका अनुसार आन्तरिक गुणस्तर नियन्त्रण प्रणाली तथा बाह्य प्रयोगशालासँगको सहकार्यमार्फत परीक्षण नतिजालाई अझै स्तरीय बनाउने प्रयास भइरहेको छ।

विज्ञान र प्रविधिमा तीव्र परिवर्तन भइरहेकाले प्रयोगशालाका प्राविधिकहरूले निरन्तर सिकाइ र मापदण्डअनुसारको आचरणमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। काठमाडौँ महानगरपालिकामा हाल ३५ जना ल्याब टेक्निसियन कार्यरत छन्।