Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व

३१ असार २०८३ २१:१७

काठमाडौं, असार,३१— शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाले नयाँ नेतृत्व पाएको छ। बुधबार शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. सुनिलकुमार जोशीलाई उपकुलपति र डा. भीम चन्दलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

गत वैशाखमा सरकारले अध्यादेशमार्फत देशभरका विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि विश्वविद्यालय नेतृत्वविहीन बनेको थियो। त्यसपछि गठित उच्चस्तरीय सिफारिस समितिको सिफारिसका आधारमा सिनेटले नयाँ पदाधिकारी नियुक्त गरेको हो।

नयाँ नेतृत्व नियुक्त भएसँगै कैलालीको गेटास्थित विशिष्टीकृत स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालन तथा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रक्रिया थप तीव्र हुने अपेक्षा गरिएको छ।

नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी यसअघि पनि विश्वविद्यालयका संस्थापक उपकुलपति रहिसकेका छन्। उनको पहिलो कार्यकालमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माण गरिएको थियो। उनले सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण सम्पन्न गराउनुका साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नौ वटा नियमावली तयार गराएका थिए। साथै एमबीबीएससहित विभिन्न चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीसमेत अघि बढाएका थिए।

प्रा.डा. जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिनका प्राध्यापकका रूपमा कार्यरत रहिसकेका छन्। उनी विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा पनि आबद्ध छन्। चिकित्सा तथा सार्वजनिक स्वास्थ्य क्षेत्रमा लामो अनुसन्धान अनुभव भएका उनका दर्जनौँ अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।

त्यस्तै, रजिस्ट्रारमा नियुक्त डा. भीम चन्द स्वास्थ्य संस्था व्यवस्थापन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव भएका विज्ञ हुन्। हस्पिटल म्यानेजमेन्टमा विद्यावारिधि गरेका उनले काठमाडौं मेडिकल कलेजको स्थापना तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यहाँ उनले १६ वर्षसम्म प्रशासन, लेखा तथा प्रशासकीय प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

डा. चन्द नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य तथा इथिकल कमिटीका पूर्व संयोजकसमेत हुन्। उनी विगत १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा कार्यरत थिए। गेटा परियोजनाको प्रारम्भिक चरणदेखि नै संलग्न रहेका उनले पूर्वाधार निर्माणसम्बन्धी प्राविधिक समितिमा रहेर पनि योगदान दिएका छन्। विश्वविद्यालयको कार्यकारी परिषद्का सदस्य रहँदा उनले विश्वविद्यालयको ओएनएम र आवश्यक कानुन निर्माण प्रक्रियामा समेत सक्रिय भूमिका खेलेका थिए।

यसअघि सरकारले नयाँ पदाधिकारी छनोटका लागि प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिका सदस्य प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा.डा. शैलु प्रधानलाई नियुक्त गरिएको थियो। समितिले असार दोस्रो सातामै योग्य उम्मेदवारहरूको नाम सिफारिस गरे पनि औपचारिक नियुक्तिको निर्णय भने बुधबार सिनेट बैठकबाट भएको हो।

विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा विस्तारका कामले अब नयाँ गति लिने विश्वास गरिएको छ।