Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

५ भाद्र २०८१ ०८:११

तनहुँ,स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने जानाकारी गराइका छन ।

दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न  अस्पताल टिम मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताए। “दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु। प्रदेशबाट स्वीकृति आउना साथ विस्तारको काम अघि बढ्नेछ”, उनले भने।

दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताए। उनले भने, “अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ। यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ।”

पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ। अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ।

अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताए।

यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उनको भनाइ छ।

यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो। रासस