Trending
आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २६ वर्ष पछि कार्यान्वयनमा     |     मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन     |     नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी     |     ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम     |     परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन     |     मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार     |     मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल     |     हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो     |     प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास     |     नेशनल अस्पतालले एक लाख रुपैयाँ जरिवाना बुझायो     |    
स्वास्थ्य समाचार

प्रधानमन्त्री कार्यालयको निर्देशनः सार्वजनिक बिदाको दिन पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्नु

१७ भाद्र २०८१ ०७:२६

काठमाडौं,  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका छन।

उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०।१ को खण्ड ९न‍. मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेका छन्।

सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ।

अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा सार्वजनिक दिनमा पनि सेवा प्रवाह गर्न भनिएको जनाइएको छ। मन्त्रिपरिषद् कार्यालयले गृहमन्त्रालयलाई सेवा प्रवाह गर्ने गराउने व्यवस्थाका लागि आवश्यक समन्वय र अनुगमन गर्न समेत अनुरोध गरेको छ।

विशेष व्यवस्थामा अस्पतालसहित नागरिकतासम्बन्धी सेवा, राष्ट्रिय परिचयपत्र, राहदानी, वैदेशिक रोजगार सेवालगायत सेवा सार्वजनिक दिन पनि अन्य दिन सरह सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक दिनमा अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्ने निर्देशन कार्यान्वयन गर्ने बताए।

‘हामीले सबै अस्पताललाई मन्त्रालयबाट निर्णय गरेर पत्राचार गर्ने तयारीमा रहेका छौँ’, उनले भने, ‘सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि हामी छलफलमा छौँ।’

उनले सार्वजनिक दिनमा बहिरङ्ग सेवा बाहेकको सबै सेवा सञ्चालन गरेको उल्लेख गर्दै बहिरङ्ग सेवा पनि कर्मचारीलाई अतिरिक्त समय काममा लगाए हुन्छ कि सिफ्टअनुसार हुन्छ भनेर छलफल गरिरहेको बताए।