Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सय बढी नागरिकले लिए सेवा

९ माघ २०८१ १९:४१

रामेछाप ,लिखु तामाकोशी गाउँपालिकामा सञ्चालित ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट ८ सयभन्दा बढी नागरिकले सेवा लिएका छन् । गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा एक वर्षदेखि सञ्चालन भएको ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ बाट सो गाउँपालिकाका ८ सयबढी नागरिकले सेवा लिएका हुन् ।

एक वर्षमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत ३ सय २४ जनाले मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी समस्याहरू दर्ता गराएकामा उनीहरूलाई विभिन्न चरणमा ६ सय ५१ पटक सेवा दिइएको संस्थाले जनाएको छ ।

यसैगरी एक वर्षमा ४ सय ९३ जना मधुमेह, उच्च रक्तचाप र दमका दीर्घ रोगीहरूले समस्या दर्ता गराएकामा ७ सय ३१ पटक सेवा दिइएको संस्थाको प्रगति प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा १५ विद्यालयका ३ सय ५ जना विद्यार्थीहरूलाई प्राथमिक उपचार तालिमलाई दिइएको गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठानले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा कार्यक्रमको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले गाउँपालिकाको ‘स्वस्थ नागरिक बनाउने’ अभियानमा गणेश उज्जन (भुवन) स्मृति प्रतिष्ठान र एनपीओ आशा जापानको सहकार्यमा ‘डिजिटल प्राथमिक स्वास्थ्य सेवा’ मार्फत नागरिकलाई दिइएको सेवा प्रभावकारी भएको बताए । उनले सो कार्यमा गाउँपालिका अझै सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।

प्रतिष्ठानकी अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, गाउँपालिकाका १५ विद्यालयका प्रधानाध्यापकहरू र स्वास्थ्य संस्थाका इञ्चार्जहरू सहभागी रहेका थिए ।

कार्यक्रममा एनपीओ आशा जापानका अध्यक्ष योशिफुमी निनले डिजिटल प्रविधिमार्फत प्रदान गरिने स्वास्थ्य सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि प्रभावकारी भएको बताइन् ।

प्रतिष्ठानका सल्लाहकार राजकुमार श्रेष्ठले शिक्षा, स्वास्थ्य, र सामाजिक विकासमा प्रतिष्ठानले काम गर्दै आएको बताए । समुदायको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रमका परियोजना संयोजक गणेशमान लामाले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए । उनले आगामी कार्यक्रमको कार्ययोजना समेत प्रस्तुत गरेका थिए । उनले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमलाई थप प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कार्यक्रममा उत्कृष्ट योगदान गर्ने समुदाय स्वास्थ्य कार्यकर्ता वर्ष २०२४ पुरस्कार लालमाया तामाङलाई प्रदान गरिएको थियो । त्यस्तै, समुदाय प्रभाव पुरस्कार सस्मिता माझीलाई र नेतृत्व पुरस्कार उर्मिला पौडेललाई प्रदान गरिएको थियो ।