Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न स्वास्थ्य मन्त्रि पौडेलको आग्रह

१७ बैशाख २०८२ ०६:१३

काठमाडौं, १६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
स्वास्थ्य समन्वय समितिको आज तेस्रो बैठकको अध्यक्षता गर्दै उनले संघ, प्रदेश र स्थानीय तह तहले छरिएर काम गर्दा नतिजा निस्क्न समस्या भएको बताए ।
‘हामीले एक अर्काले फरक फरक ढंगले काम गरेर नतिजा दिन गाह्रो छ,’ उनले भने, ‘बजेट नदोहोरिने गरी अहिलेका स्वास्थ्य समस्या समाधान गर्न मिलेर काम गरौं ।’
मन्त्री पौडेलले प्रदेश तथा संघ अन्र्तगतका अस्पतालहरुमा भने जति जनशक्ति र स्रोत साधन पुर्याउन नसकिएको भन्दै एक अर्काका अस्पतालमा तीनै तहले सहकार्य गर्ने हो भने अहिलेकै जनशक्ति र स्रोत साधनबाट समेत अधिकतम नतिजा दिन सकिने बताए । ‘अस्पतालमा तीनै तह मिलेर लगानी गरौं,’ उनले भने, ‘यो अहिलेको उत्तम आवश्यकता हो ।’
उनले विशिष्टिकृत उपचार सेवा हरेक प्रदेशमा पुर्याउन प्रयास गरिरहेको उल्लेख गर्दै यसमा प्रदेश सरकार र स्थानीय तहबाट पनि साथ अपेक्षा गरेको बताए ।
‘हामीले क्यान्सर उपचार सेवा धेरै प्रदेशमा विस्तार भएको तथा मुटु उपचार र प्रत्यारोपण सेवासमेत विस्तार गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘जलन उपचार पनि सातै प्रदेशमा पुर्याउने योजना छ । यसमा प्रदेशबाट समेत साथ मिलेमा प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विश्वास छ ।’
उनले उपचारात्मक सेवा सुधार सँगै रोग लाग्न नदिनका लागि निरोधात्मक पद्दतीमा काम गर्ने प्रयास संघ सरकारले गरिरहेको भन्दै यसमा प्रदेश र स्थानीय तहबाट सहयोग अपेक्षा गरिएको बताए ।
‘अब नसर्ने रोगको निःशुल्क स्कृनिङ गर्न पालिकालाई २ लाख दिंदैछौं,’ उनले भने, ‘प्रदेश र पालिकाले पनि सहयोग गरौं । सबै मिलेर नसर्ने रोग कम गर्न व्यापक सहकार्य गरौं ।’
मन्त्री पौडेलले सबै तहमा बीमालाई व्यवस्थित गर्न सहकार्य आवश्यक रहेको भन्दै यसका लागि समेत सहकार्यको प्रस्ताव गरे । बैठकमा विभिन्न प्रदेशका स्वास्थ्य मन्त्री, नगरपालिका तथा गाउँपालिका महासंघका प्रतिनिधि तथा ललितपुर महानगर प्रमुख, बीमा बोर्डका कार्यकारी निर्देशकसँगै मन्त्रालयका अधिकारी सहभागी थिए ।