Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन

१७ जेष्ठ २०८२ १३:०२

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नु भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिनुभयो । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ´ उहाँले भन्नुभयो ।

समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । `बिरामीहरूले अपरेशनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,´ उहाँले स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।