Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन

१७ जेष्ठ २०८२ १३:०२

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ रक्त सञ्चार केन्द्र उद्घाटन
बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालमा रुपन्देही व्यापार संघको उपकरण सहयोगमा निर्मित रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान समेत गर्नु भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने पनि जानकारी दिनुभयो । `रगतमा लाग्ने जुन शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ । निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ´ उहाँले भन्नुभयो ।

समुदायको क्षेत्रबाट रक्त सञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । दान र सेवाको माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेका जानकारी दिनुभयो । अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । `बिरामीहरूले अपरेशनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको छ । सेवा प्रवाह नै पहिलो सर्त हो । यसमा सरकार दृढ छ,´ उहाँले स्पष्ट पार्नुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो ।