Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हट्यो

३२ असार २०८२ ०९:३०

डडेल्धुरा, असार । स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको छ । बिमा बोर्डले प्रथम सेवा विन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने जनाएको छ ।

“उपरोक्त सम्बन्धमा स्वास्थ्य बिमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रूपमा मात्र सूचीकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा विन्दुको रूपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,” डडेल्धुरा अस्पतालका निमित्त मेसु नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा भनिएको छ ।

सूचनाअनुसार अबदेखि डडेल्धुरा अस्पतालमा सिधैँ गएर बिमाको सेवा लिन नमिल्ने भएको छ । सेवा लिन चाहने बिमितहरूले स्थानीय तहका सूचीकृत स्वास्थ्य संस्थाबाट रेफरल सिफारिस अनिवार्य रूपमा लिएर जानुपर्नेछ ।

डडेल्धुरामा केवल परशुराम नगरपालिकाको जोगबुढा अस्पताल मात्र प्रथम सेवा विन्दुका रूपमा तोकिएको छ । जसका कारण उक्त क्षेत्रका केही सीमित सेवाग्राहीले मात्र बिमा सुविधा पाउने भएका छन् । बाँकी ६ वटा स्थानीय तहका बिमितहरूले डडेल्धुरा अस्पतालको बिमा सेवा उपयोग गर्न पाउने छैनन् ।

स्वास्थ्य बिमा कार्यालय डडेल्धुराले माथिबाट आएको निर्देशन स्पष्ट नभएकाले हाल प्रदेश सरकारसँग छलफल भइरहेको जनाएको छ । दर्ता अधिकारी दीपकबहादुर धामीले भने, “यस विषयमा प्रदेशसँग छलफल भइरहेको छ ।” उनका अनुसार डडेल्धुराका ३२ हजार नौ सय ८४ जना स्वास्थ्य बिमामा आवद्ध छन् ।

प्रदेश शाखा संयोजक जनकबहादुर साउदले भने “प्रत्येक स्थानीय तहमा निर्माण हुने भनिएका अस्पतालबाट रेफर भएर आएका बिरामीले मात्र बिमा सेवा पाउने गरी नियमावली संशोधन गरिएको हो । तर हाल डडेल्धुरामा जोगबुढा बाहेक अन्य कुनै पनि अस्पताल प्रथम सेवा विन्दुका रूपमा तोकिएको छैन । त्यसैले अकस्मिक बाहेक अन्य बिमितले सेवा पाउने छैनन् ।”

यस निर्णयले अस्पतालमा उपचार गराउँदै आएका सुदूरपहाडका हजारौँ बिमित नागरिक अन्योलमा परेका छन् । विशेष गरी दुर्गम गाउँबाट आउने बिरामीलाई अब नजिकको अस्पतालमा जान, त्यहाँबाट रेफरल सिफारिस ल्याउन र फेरि डडेल्धुरा आउनुपर्ने बाध्यता आइलाग्ने छ ।