Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

अस्पतालमा जन्म, हेलिकप्टरमा उद्धार, काठमाडौँमा मृत्यु

६ श्रावण २०८२ २२:०८

खोटाङ, साउन ६ – खोटाङको जिल्ला अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ। जन्मिएलगत्तै गम्भीर श्वासप्रश्वासको समस्या देखिएपछि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत शिशु र आमालाई काठमाडौँ लगिएको थियो।

शिशुलाई महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा भर्ना गरिए पनि चिकित्सकीय प्रयास असफल रहँदा शिशुको मृत्यु भएको हो।

उक्त शिशु दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५, विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तान थिए। आफन्तहरूका अनुसार शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

जिल्ला अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार बच्चा जन्मिने म्याद एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि औषधि प्रयोग गरिएको थियो। तीनपटकसम्म औषधि दिँदा पनि अवस्था नबदलिएकाले अन्ततः शल्यक्रिया गर्नुपरेको र त्यसपछि नवजात शिशुमा गम्भीर स्वास्थ्य जटिलता देखिएको जानकारी दिएका छन्।

यद्यपि शिशुको मृत्युपछि आफन्तहरूले अस्पतालमा देखिएको स्वास्थ्यकर्मीको लापरवाही र समयमै उपचार नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

जिल्ला अस्पतालको अवस्था पनि यस घटनामा थप प्रश्न उठाउने खालको छ। भौतिक संरचना र दक्ष जनशक्तिको अभावका कारण बिरामीहरूलाई दैनिकजसो हेलिकप्टरमार्फत अन्यत्र लैजानुपर्ने अवस्था रहेको जनाइएको छ।

गत असार २२ गते कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जिल्ला अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिएको घोषणा गरेका थिए। तर, अत्यावश्यक पूर्वाधार, उपकरण र जनशक्ति अभावकै बीच अस्पताल सञ्चालित हुँदा घोषणाभन्दा व्यवहार फरक भएको आलोचना हुँदै आएको छ।

विसं २०४९ मा स्थापना भएको जिल्ला अस्पतालको ५० शय्याका लागि निर्माणाधीन भवन अहिलेसम्म पनि अधुरो अवस्थामा छ, जसले गर्दा स्थानीयबासी अझै पनि उपयुक्त स्वास्थ्य सेवाबाट वञ्चित छन्।