Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

वरिष्ठ चिकित्सकमाथि अभद्र व्यवहारपछि मलंगवा अस्पतालको ओपीडी सेवा ठप्प, सुरक्षामै संकट

६ श्रावण २०८२ २२:१३

काठमाडौं, साउन ६ – सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकमाथि भएको अभद्र व्यवहारपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प पारिएको छ। अस्पताल प्रशासनले दोषीमाथि छानबिन तथा कारवाही नभएसम्मका लागि ओपीडी (बाहिरी बिरामी) सेवा बन्द गरिएको जनाएको छ।

अस्पतालका अनुसार सोमबार राति करिब ८ बजे आपत्कालीन कक्षमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कृष्ण जंग शाहमाथि बिरामीका आफन्तको समूहले दुर्व्यवहार गरेका थिए। वीर अस्पतालबाट हालै मात्रै मलंगवा अस्पतालमा सरुवा भई सेवा दिइरहेका डा. शाहमाथि यस्तो व्यवहार हुनु “दुर्भाग्यपूर्ण” भएको अस्पताल स्रोतले जनाएको छ।

घटनापछि अस्पताल प्रशासनले आकस्मिकबाहेक सबै सेवा स्थगित गर्दै दोषीहरूलाई कारवाही नगरेसम्म सेवा सुचारु नगर्ने अडान लिएको छ। सेवा बन्दका कारण अस्पतालमा आएका सर्वसाधारण बिरामीहरू अन्योलमा परेका छन्। अस्पतालले यसबाट बिरामीलाई परेको असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।

संस्थागत सुरक्षा अभाव र राज्यको ढिलासुस्तीप्रति चिकित्सक संघको आपत्ति
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहारको घटनालाई “गम्भीर चिन्ताको विषय” भन्दै स्वास्थ्यकर्मी सुरक्षा ऐन कार्यान्वयन गर्न राज्य असफल भएको आरोप लगाए।

“राजनीतिक संरक्षण, गुण्डागर्दी र लेनदेनको आडमा चिकित्सकमाथि आक्रमण हुनु अत्यन्त दुखद हो,” उनले भने, “नयाँ कानुन र केही अदालती फैसलाहरूले पनि यस्ता कार्यलाई अप्रत्यक्ष रूपमा बढावा दिएका छन्।”

डा. कार्कीका अनुसार डा. शाह जस्ता अनुभवी विशेषज्ञलाई दुर्गम क्षेत्रमा पठाउनुको उद्देश्य ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा दिनु हो, तर त्यही ठाउँमा चिकित्सकमाथि यस्ता व्यवहार हुनुले सबै सेवा प्रणालीमा नै निराशा फैलिएको छ।

उनले स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, स्थानीय तह र प्रशासन सबै निकायहरूलाई यस्ता घटनाप्रति तुरुन्त सजग र जवाफदेही बन्न आग्रह गरेका छन्।

सुरक्षा ऐन कार्यान्वयनमा कमजोरी, सेवामा असर
स्वास्थ्यकर्मी सुरक्षाका लागि कानुन त बनेको छ – तर व्यवहारमा कार्यान्वयन कमजोर भएको चिकित्सकहरूको गुनासो छ। हालैका दिनमा देशका विभिन्न अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएका अभद्र व्यवहार र आक्रमणका घटनाहरू दोहोरिन थालेका छन्।

संघले बारम्बार सुरक्षा ऐनको कडाइका साथ कार्यान्वयन, दोषीलाई निष्पक्ष कारवाही, र अस्पताल परिसरभित्र सुरक्षा व्यवस्थाको सुदृढीकरणको माग गर्दै आएको छ। तर, प्रशासनिक कमजोरी र राजनीतिक हस्तक्षेपका कारण यस्ता घटनाहरू नियन्त्रण बाहिर गइरहेका छन्।
मलंगवा अस्पतालमा वरिष्ठ चिकित्सकमाथि भएको यो घटनाले फेरि एकपटक स्वास्थ्यकर्मीको सुरक्षामाथि गम्भीर प्रश्न खडा गराएको छ। सेवा रोकिँदा प्रत्यक्ष असर बिरामीमा परेको छ भने राज्यको निष्क्रियता र ढिलासुस्तीले स्वास्थ्य सेवा प्रणालीमाथि नै जनविश्वास कमजोर बनाउने खतरा देखिएको छ।