Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

धरान उपमहानगरपालिकाको माग: पुरानो अस्पतालको जग्गा फिर्ता गरियोस्

७ श्रावण २०८२ २१:३५

धरान, सुनसरी — धरान उपमहानगरपालिकाले छाताचोकस्थित पुरानो अस्पताल भवन रहेको जग्गा फिर्ता गर्न माग गरेको छ। नगर प्रमुख हर्कराज राईको हस्ताक्षरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको पत्रमार्फत नगरपालिकाले जग्गा “नगर अस्पताल निर्माणका लागि अत्यावश्यक” भएको बताउँदै तत्काल फिर्ता गरिनु पर्ने माग अघि सारेको हो।

पत्रमा नगर प्रमुख राईले उक्त जग्गा नगरपालिकाको स्वामित्वमा रहेको उल्लेख गर्दै यसलाई “दलाली प्रक्रियामार्फत” वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। राईको भनाइमा, “कुनचाहिँ कुलङ्गारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ, थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। Please फिर्ता गरिदिनु होला।”

उक्त पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाइएको छ।

नगरप्रमुख राईले पत्रमा थप लेखेका छन्, “नगरवासीको हितका लागि उपयुक्त स्थानमा गुणस्तरीय नगर अस्पताल निर्माण गर्नु आजको आवश्यकता हो। तर यसको लागि नगरकै जग्गा बाहिर गइसकेको पाइयो भने हामी चुप लाग्न सक्दैनौं।”

उनले कुनै पनि संघ–संस्थाले स्थानीय सरकारको स्वामित्वमा रहेको सम्पत्तिलाई नगरपालिकाको सहमति विना एकतर्फीरूपमा लिनु नाजायज रहेको जिकिर गरेका छन्।

धरान उपमहानगरपालिका हाल एक स्तरीय नगर अस्पताल स्थापना गर्ने योजनामा रहेको छ। यो योजनाको लागि उपयुक्त संरचना र स्थान खोजी भइरहेका बेला, नगरकै बहुमूल्य जग्गा अन्य संस्थालाई दिइएको भन्दै नगरपालिकाले औपचारिक असन्तुष्टि जनाएको हो।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिक्रिया भने आउन बाँकी छ।