Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
जीवनशैली

सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई अब जरिवाना, काठमाडौ महानगरको कडा कदम

१० श्रावण २०८२ २०:१६

काठमाडौं, साउन १० – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख राजु पाण्डेले आर्थिक वर्ष २०८२/८३ का लागि पारित आर्थिक ऐनमार्फत यस्तो व्यवस्था गरिएको जानकारी दिए।

महानगरपालिकाका अनुसार साउन ९ गतेदेखि एक महिनासम्म सार्वजनिक सचेतनामूलक प्रचारप्रसार गरिनेछ भने भदौ १ गतेदेखि यो निर्णयको उल्लंघन गर्नेलाई सीधा कारबाही गरिने छ।

धूम्रपान गर्न पाइने स्थलबारे व्यापक अन्योल रहँदै आएको बेला काठमाडौँ महानगरको यो निर्णयलाई स्वास्थ्य सुरक्षाका लागि साहसी कदमको रूपमा हेरिएको छ।

५०० रुपैयाँ जरिवाना, दोहोर्‍याएमा दोब्बर

प्रहरी प्रमुख पाण्डेले सार्वजनिक स्थानमा धूम्रपान गरेमा पहिलोपटक रु ५०० जरिवाना गरिने र दोहोर्‍याएमा जरिवाना दोब्बर हुने जानकारी दिए। “हाम्रो हटलाइनमा सार्वजनिक स्थानमा धूम्रपानको गुनासो धेरै आएको थियो,” उनले भने, “अब निजी स्थल बाहेक सबै ठाउँमा धूम्रपान निषेध गरिएको छ।”

कहाँ–कहाँ धूम्रपान निषेध?

सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन अनुसार, देहायका सार्वजनिक स्थलहरूमा धूम्रपान निषेध गरिएको छ:

  • सरकारी कार्यालय, विद्यालय, पुस्तकालय, अस्पताल, तालीम केन्द्र

  • सार्वजनिक यातायात, विमानस्थल, टिकट काउण्टर

  • होटल, रेष्टुरेण्ट, बार, अतिथि गृह

  • चलचित्र घर, क्लब, व्यायामशाला, पौडी पोखरी

  • वृद्धाश्रम, अनाथालय, बाल उद्यान

  • डिपार्टमेन्टल स्टोर, धार्मिक स्थल, सार्वजनिक शौचालय

निजी ठाउँमा पनि सीमा

धूम्रपान केवल घरभित्र वा निजी गाडीभित्र गर्न पाइन्छ भन्ने आम बुझाइलाई पनि यस ऐनले खारेज गरेको छ। ऐनको दफा ६ अनुसार अरू व्यक्तिलाई असर पर्ने गरी घर वा निजी सवारीमा धूम्रपान गर्न पनि पाइँदैन

व्यवस्थापकका लागि चेतावनी

सार्वजनिक स्थलका व्यवस्थापकले धूम्रपान निषेधसम्बन्धी सूचना सबैले देख्न सक्ने गरी टाँस्नु अनिवार्य गरिएको छ। नियम उल्लंघनमा व्यवस्थापकलाई समेत कारबाही हुन सक्ने उल्लेख गरिएको छ।

काठमाडौँ महानगरपालिकाको यो निर्णयले जनस्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण मोड लिएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र असक्त व्यक्तिहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै गरिएको यो पहलले अन्य स्थानीय तहहरूलाई पनि अनुकरणीय उदाहरण दिन सक्ने विश्वास गरिएको छ।