Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्वपूर्ण : परराष्ट्रमन्त्री डा. आरजू राणा

१८ श्रावण २०८२ २१:२८

काठमाडौं, साउन १९ – परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएकी छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्य सेवाको आधारशिला नै नर्सहरू भएको उल्लेख गरिन्।

“नेपालजस्तो देशमा जहाँ चिकित्सकहरू सबै ठाउँमा पुग्न सक्दैनन्, त्यहाँ नर्सहरू नै स्वास्थ्य सेवा प्रवाहका प्रमुख संवाहक हुन्,” मन्त्री राणाले भनिन्। उनले नर्सहरूले गाउँघरदेखि शहरी अस्पतालसम्म जनताको स्वास्थ्य सुरक्षामा दिएको योगदानको प्रशंसा गर्दै यसलाई अझ प्रभावकारी बनाउन आवश्यक नीति, संरचना र तालिमको खाँचो रहेको बताइन्।

उनले नर्सिङ पेशालाई सेवा मात्र नभई नेतृत्व र स्वावलम्बनको पाटोमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्। “नर्सहरूलाई स्वास्थ्य अभियानकर्ताको रूपमा विकास गर्न सरकारले नीति निर्माणको तयारी गरिरहेको छ,” मन्त्री राणाले भनिन्। साथै, उनले विदेशमा तालिम प्राप्त नेपाली नर्सहरूलाई स्वदेशमै प्रयोग गर्न अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नर्सिङ पेशामा देखिएको असमानता, न्यून पारिश्रमिक र कार्यस्थलमा हुने दुव्र्यवहारबारे चिन्ता व्यक्त गरे। उनीहरूले नर्सहरूको सेवा सुरक्षाका लागि स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकारलाई आग्रह गरे।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सहरूको पेशागत हितका लागि बन्न लागेको नयाँ स्वास्थ्य सेवा ऐनमा पारिश्रमिक, पदोन्नति, सेवा सुरक्षा र कार्य वातावरण सम्बन्धी व्यवस्थाहरू समेटिने बताएको छ। मन्त्रालयले न्यून पारिश्रमिकमा नर्सहरू राख्ने अस्पतालहरूलाई कारबाही गर्ने तयारी पनि गरिरहेको छ।

नर्सहरूको सेवा र समर्पणलाई मान्यता दिँदै सरकारले नर्सिङ क्षेत्रको सुधारका लागि बजेट, नीति तथा कार्यक्रममार्फत दीर्घकालीन योजना अघि सार्नुपर्ने सरोकारवालाहरूको धारणा छ।