Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

२३ श्रावण २०८२ २०:२५

कञ्चनपुर, २३ साउन।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा दीर्घरोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ। नगरपालिकाभित्र उच्च रक्तचाप, मधुमेह, दम, मुटु रोग, मिर्गौला रोग लगायत दीर्घकालीन रोगबाट पीडित हुनेको संख्या उल्लेख्य रूपमा बढेको स्वास्थ्य शाखाले जनाएको छ।

शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखा प्रमुखका अनुसार पछिल्ला तीन वर्षमा दीर्घरोग पीडित सेवाग्राहीको संख्या दोब्बरभन्दा बढी भएको छ। खानपान, शारीरिक निष्क्रियता, तनाव, धूम्रपान तथा मद्यपानको बढ्दो लतजस्ता कारणले दीर्घरोग बढिरहेको विश्लेषण गरिएको छ।

नगरपालिकाले दीर्घरोग पहिचान तथा उपचारका लागि प्रत्येक वडामा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्दै आएको छ। साथै, औषधि वितरण, परामर्श सेवा र जनचेतनामूलक कार्यक्रमसमेत चलाइएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

शुक्लाफाँटा–५ का स्थानीय गोपाल साउँद भन्छन्, “पहिले गाउँमा यस्ता रोग सुन्ने थियौं, अब त घरघरमा बिरामी छन्। नियमित औषधि खानुपर्ने, अस्पताल धाउनु पर्ने भएको छ।”

नगरपालिकाले दीर्घरोगीलाई लक्षित गरी हरेक स्वास्थ्य चौकीमा नियमित परीक्षण सेवा, औषधि उपलब्धता र फोलोअप सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ।

स्वास्थ्यकर्मीहरूले दीर्घरोग नियन्त्रणका लागि समयमै स्वास्थ्य परीक्षण, नियमित व्यायाम, सन्तुलित भोजन, धूम्रपान/मद्यपान त्याग र तनावमुक्त जीवनशैली अपनाउन सुझाव दिएका छन्।