Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनमै २८ संक्रमित, दुईको मृत्यु, विद्यालय बन्द

७ भाद्र २०८२ २०:५७

वीरगञ्ज, ७ भदौ । बिरगंज स्थित मुर्ली टोलमा हैजाका बिरामी भेटिएसँगै सुरु भएको प्रकोप थप विस्तार हुँदै गएको छ। वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालको समन्वयमा स्वास्थ्यकर्मीहरू शुक्रबार रातिदेखि नै प्रभावित क्षेत्रमा खटिएका छन्।

शुक्रबार राति मुर्ली टोलका ३० भन्दा बढी व्यक्तिमा अचानक झाडापखालाको लक्षण देखिएपछि उनीहरूलाई तराई हस्पिटलमा भर्ना गरिएको थियो। सोही क्रममा नमूना परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु (कोलेरा) पुष्टि भएको थियो। संक्रमितमध्ये एक १६ वर्षीय किशोर गम्भीर अवस्थामा छन् भने अन्य २४ वर्षीय पुरुष र महिला उपचाररत छन्।

शनिबारसम्म गरिएको थप परीक्षणमा कुल २८ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। यस्तै, झाडापखालाका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

  • वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहका अनुसार संक्रमित बढ्दै गएपछि प्रभावित बस्तीमा स्वास्थ्य टोलीले घर–घरमा पुगेर जनचेतना फैलाउने अभियान सञ्चालन गरेको छ।

  • पिउनेपानीका नमूना थप परीक्षणका लागि काठमाडौँ टेकुस्थित प्रयोगशालामा पठाइएको छ।

  • महानगर प्रमुख राजेशमान सिंहले हैजा रोकथामका लागि कुनै लापर्वाही नगर्न आग्रह गर्दै “सफा पानी मात्र पिउनुहोस्, खाना राम्रोसँग पकाएर खानुहोस् र सरसफाइमा विशेष ध्यान दिनुहोस्” भनेका छन्।

  • नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले आकस्मिक विभागमा झाडापखालाका गम्भीर बिरामी उपचाररत रहेको बताउँदै पिउने पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न स्थानीयलाई सचेत गराएका छन्।

खानेपानी मन्त्री प्रदीप यादव शनिबार वीरगञ्ज पुगेर मुर्ली टोललगायतका प्रभावित क्षेत्रमा निरीक्षण गरेका छन्। उनले हैजा फैलन नदिन मोबाइल भ्यानमार्फत पानी परीक्षण गर्ने टोली परिचालन भएको जानकारी दिएका छन्।

यसैबीच, महामारीजन्य अवस्था फैलन नदिन वीरगञ्ज महानगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखिएको हो। स्थानीय बासिन्दामा पानीको गुणस्तर र सरसफाइप्रति बेवास्ता नै यसको मूल कारण हुनसक्ने आशंका गरिएको छ।