Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

वीरगञ्जमा हैजाको आतंक, संक्रमित ९३ पुग्दा अस्पतालहरूमा चाप

११ भाद्र २०८२ ०९:५३

वीरगञ्ज, ११ भदौ । वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण झन् बढ्दै गएको छ। सोमबारसम्म कुल ९३ जनामा हैजा पुष्टि भएको पर्सा जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

वीरगञ्ज महानगरमा हैजाको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ।

महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकले भदौ ११ गतेदेखि १३ गते शुक्रबारसम्मका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो।

आइतबार बेलुकासम्म ७१ जना संक्रमित भेटिएकोमा सोमबार थप २२ जना थपिँदा संक्रमितको संख्या ९३ पुगेको हो। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार अहिले वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्।

अस्पतालमा गरिएको परीक्षणका नतिजा अनुसार नारायणी अस्पतालमा ३२ जना, तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, तथा अर्ली अर्थो अस्पतालमा दुई जनामा हैजा पुष्टि भएको छ। त्यस्तै नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा एक–एक जना संक्रमित भेटिएका छन्।

हालसम्म वीरगञ्जका अस्पतालहरूमा आएका झाडापखाला र हैजासम्बन्धी बिरामीको कुल संख्या ३४४ पुगेको छ। तीमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियुमा र १२२ जना जनरल वार्डमा उपचाररत छन्।

संक्रमण बढ्दै गएपछि महानगरमा त्रि–स्तरीय सरकार—संघीय, प्रदेश र स्थानीय—ले रोकथाम तथा नियन्त्रणका लागि अधिकतम प्रयास गरिरहेका छन्। तर पनि संक्रमितको संख्या घट्न सकेको छैन।