Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

भरतपुर अस्पतालले स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो, सञ्चालनमै संकट

१३ भाद्र २०८२ १०:२१

चितवन, १३ भदौ भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट पाउनु पर्ने भुक्तानी रकम एक अर्ब रुपैयाँ नाघेको छ। लामो समयदेखि रकम नआएपछि अस्पताल सञ्चालनमै गम्भीर समस्या उत्पन्न भएको छ।

सङ्घीय सरकार मातहतको यस अस्पतालमा दैनिक रूपमा बिरामीको चाप उच्च रहने गरेको छ। बीमा गरेका बिरामीको संख्या झन् बढी हुने भएकाले दाबी फाइलहरू ठूलो संख्यामा पेस हुने गरेको छ। अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको मात्रै करिब रु ९० करोड भुक्तानी बाँकी छ भने चालु आर्थिक वर्षको साउन महिनाको थप रु १० करोड भुक्तानी अझै निकासा भएको छैन।

गत आर्थिक वर्षमा अस्पतालले चार लाख ४१ हजार ३०८ वटा बीमा दाबी फाइल पेस गरेको थियो। अस्पतालमा आउने बिरामीमध्ये करिब ७० प्रतिशत बिरामी बीमाका आधारमा उपचार गराउने गरेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले भुक्तानी रोकिँदा अस्पतालमा आर्थिक संकट देखिएको बताए। उनका अनुसार, “साउन महिनाको तलब बल्ल खुवाइएको छ, तर भदौ महिनाको तलब दिन सक्ने अवस्था छैन।”

उनले अस्पतालका नियमित कार्यहरू, औषधि आपूर्ति र उपकरण खरिदसमेत प्रभावित भएको जानकारी दिए। बन्दै गरेको ट्रमा सेन्टरको काम पनि बजेट अभावका कारण रोकिएको उनले बताए।

बीमा दाबीमा ढिलाइले देशभर समस्या

भरतपुर अस्पताल मात्र होइन, स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अन्य ठूला अस्पतालहरूले पनि भुक्तानी नपाउँदा समस्या झेल्नुपरेको छ। बीमा बोर्डमार्फत रकम वितरण प्रक्रियामा ढिलाइ हुँदा बिरामीको उपचार सेवा अवरुद्ध हुने अवस्था देखिएको स्वास्थ्य विज्ञहरू बताउँछन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई सबै नागरिकको पहुँचसम्म पुर्‍याउने लक्ष्य लिएको छ। तर, भुक्तानी समयमा नआउँदा अस्पतालहरूले सेवा विस्तार गर्ने त परै जाओस्, कर्मचारीको तलब र दैनिक सञ्चालन खर्च धान्नै मुस्किल भइरहेको छ।

बिरामीको पीडा

बीमा गरेर अस्पताल धाउने बिरामीहरूको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ। तर अस्पतालमा औषधि आपूर्ति, परीक्षण सेवा र उपचारमा ढिलाइ हुँदा बिरामी स्वयं समस्यामा परिरहेका छन्। कतिपय अवस्थामा बिरामीलाई बीमा कभर नहुने भन्दै निजी फार्मेसी वा अन्यत्रै धाउनुपर्ने अवस्था आएको बिरामीहरूको गुनासो छ।

सरकारसँग तत्काल पहलको अपेक्षा

विशेषगरी भरतपुर अस्पतालजस्ता ठूला केन्द्रहरूमा भुक्तानी अभावले ठूलो समस्या देखिएको हुँदा तत्काल सरकारले बीमा बोर्डमार्फत रकम निकासा गर्नुपर्ने आवाज उठ्न थालेको छ। स्वास्थ्यकर्मीहरूको चेतावनी छ— यदि यसरी नै ढिलाइ भइरह्यो भने आगामी दिनमा सेवा नै ठप्प हुने खतरा बढ्नेछ।