© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

चितवन, ३० भदौः जिल्लामा जापानिज इन्सेफ्लाइटिस (JE) सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ। सङ्क्रमित १६ मध्ये उनीहरुको मृत्यु भएको हो।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार, पछिल्लो पटक भदौ २३ गते राप्ती नगरपालिकाकी ४२ वर्षीया महिलाको मृत्यु भएको थियो। यसअघि जिल्लामा भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्ध, कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा JE बाट ज्यान गुमाएका थिए। ती सबैको मृत्यु साउन महिनयता भएको थियो।
गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको थियो।
जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका व्यक्तिहरूमा देखा परेको छ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार, यो लामखुट्टे सामान्यतया घरबाहिर बस्न रुचाउँछ, साँझ र बिहान बढी सक्रिय हुन्छ, र सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपक्षीलाई टोक्दा पनि सर्ने गर्दछ। साथै, यो लामखुट्टे धानखेती क्षेत्रहरूमा अण्डा पारेर लार्भा बनाउने गर्दछ।