Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो

२ आश्विन २०८२ १९:२१

काठमाडौँ, २ असोज । हालैको ‘जेनजी’ आन्दोलनका घटनाले राजधानीका बालबालिका र युवामा मानसिक स्वास्थ्य समस्या तीव्र बनेको देखिएको छ । लगनखेल मानसिक अस्पताल र कान्ति बाल अस्पतालमा उपचारका लागि आउनेहरूको संख्या बढेको चिकित्सकले बताएका छन् ।

१६ वर्षीया एक किशोरी आन्दोलनका दृश्य बारम्बार सम्झिँदा निद्रा हराएको कारण अस्पताल पुगेकी छन् भने २५ वर्षीय एक युवक सामाजिक सञ्जाल र समाचारमा निरन्तर आन्दोलनका दृश्य हेर्दा मानसिक तनाव बढेर चिकित्सकको सम्पर्कमा पुगेका छन् । त्यस्तै, सहपाठीको मृत्यु सम्झिँदा विक्षिप्त बनेका किशोर पनि उपचार गराइरहेका छन् ।

लगनखेल मानसिक अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्कीले आन्दोलनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैलाई असर गरेको बताए । उनका अनुसार, पहिले नै मानसिक समस्या भोगिरहेका वा बालबालिकामा यसको दीर्घकालीन प्रभाव देखिन सक्ने सम्भावना बढी छ ।

कान्ति बाल अस्पतालकी मनोचिकित्सक डा. अमिता झाले आन्दोलनका दृश्यले बालबालिकामा गहिरो असर पारेको बताइन् । उनले भनिन्, “एन्जाइटी, डिप्रेसन, डर, त्रास, घटनाका फ्ल्यासब्याकजस्ता लक्षण बढेका छन् । उपचारमा परामर्श सत्र थपिएको छ, केहीमा औषधि पनि बढाउनुपरेको छ ।”

विज्ञहरूले तनाव व्यवस्थापनका लागि लामो सास फेर्ने अभ्यास, कला, सङ्गीत, खेलकुदजस्ता गतिविधिमा संलग्नता, परिवार र साथीहरूसँग खुलेर कुरा गर्ने जस्ता उपाय प्रभावकारी हुने बताएका छन् । साथै, अनावश्यक समाचार वा सामाजिक सञ्जालका सामग्रीबाट टाढा रहन र मदिरा–लागूपदार्थ नगर्न सल्लाह दिएका छन् ।

समस्या गहिरिँदै गएमा हेल्पलाइन ११६६ मा २४ घण्टा मनोपरामर्श उपलब्ध हुने र चिकित्सकसँग सम्पर्क गर्न सकिने सुझाव पनि चिकित्सकहरूले दिएका छन् ।

डा. झाले भने, “अभिभावक र शिक्षकले उमेरअनुसार सहयोग र आश्वासन दिनुपर्छ । खेलकुद र कलामा संलग्न गराउँदा आघात क्रमशः कम हुँदै जान्छ ।”

विशेषज्ञका अनुसार, हालको आन्दोलनले समाजमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता स्पष्ट देखाएको छ ।