Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो

२ आश्विन २०८२ १९:२१

काठमाडौँ, २ असोज । हालैको ‘जेनजी’ आन्दोलनका घटनाले राजधानीका बालबालिका र युवामा मानसिक स्वास्थ्य समस्या तीव्र बनेको देखिएको छ । लगनखेल मानसिक अस्पताल र कान्ति बाल अस्पतालमा उपचारका लागि आउनेहरूको संख्या बढेको चिकित्सकले बताएका छन् ।

१६ वर्षीया एक किशोरी आन्दोलनका दृश्य बारम्बार सम्झिँदा निद्रा हराएको कारण अस्पताल पुगेकी छन् भने २५ वर्षीय एक युवक सामाजिक सञ्जाल र समाचारमा निरन्तर आन्दोलनका दृश्य हेर्दा मानसिक तनाव बढेर चिकित्सकको सम्पर्कमा पुगेका छन् । त्यस्तै, सहपाठीको मृत्यु सम्झिँदा विक्षिप्त बनेका किशोर पनि उपचार गराइरहेका छन् ।

लगनखेल मानसिक अस्पतालका मनोचिकित्सक डा. वासुदेव कार्कीले आन्दोलनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सबैलाई असर गरेको बताए । उनका अनुसार, पहिले नै मानसिक समस्या भोगिरहेका वा बालबालिकामा यसको दीर्घकालीन प्रभाव देखिन सक्ने सम्भावना बढी छ ।

कान्ति बाल अस्पतालकी मनोचिकित्सक डा. अमिता झाले आन्दोलनका दृश्यले बालबालिकामा गहिरो असर पारेको बताइन् । उनले भनिन्, “एन्जाइटी, डिप्रेसन, डर, त्रास, घटनाका फ्ल्यासब्याकजस्ता लक्षण बढेका छन् । उपचारमा परामर्श सत्र थपिएको छ, केहीमा औषधि पनि बढाउनुपरेको छ ।”

विज्ञहरूले तनाव व्यवस्थापनका लागि लामो सास फेर्ने अभ्यास, कला, सङ्गीत, खेलकुदजस्ता गतिविधिमा संलग्नता, परिवार र साथीहरूसँग खुलेर कुरा गर्ने जस्ता उपाय प्रभावकारी हुने बताएका छन् । साथै, अनावश्यक समाचार वा सामाजिक सञ्जालका सामग्रीबाट टाढा रहन र मदिरा–लागूपदार्थ नगर्न सल्लाह दिएका छन् ।

समस्या गहिरिँदै गएमा हेल्पलाइन ११६६ मा २४ घण्टा मनोपरामर्श उपलब्ध हुने र चिकित्सकसँग सम्पर्क गर्न सकिने सुझाव पनि चिकित्सकहरूले दिएका छन् ।

डा. झाले भने, “अभिभावक र शिक्षकले उमेरअनुसार सहयोग र आश्वासन दिनुपर्छ । खेलकुद र कलामा संलग्न गराउँदा आघात क्रमशः कम हुँदै जान्छ ।”

विशेषज्ञका अनुसार, हालको आन्दोलनले समाजमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता स्पष्ट देखाएको छ ।