Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
समाचार

जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव

२९ आश्विन २०८२ २०:१७

काठमाडौँ, २९ असोज।जाडोयाम सुरु हुनासाथ पछिल्ला केही दिनयता देशका विभिन्न प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या तीव्र गतिमा बढेको छ। बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शय्या अभाव सिर्जना भएको छ, जसका कारण कतिपय बिरामीलाई आकस्मिक कक्षमै वा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता देखिएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार पछिल्ला दिनमा अस्पतालमा दैनिक करिब ३५० भन्दा बढी बिरामी आउँछन्। “केही दिनअघिसम्म ३०० भन्दा कम बिरामी आउँथे, अहिले एकै दिनमा ३९६ जनासम्म पुगेका छन्,” उनले बताए।

डा. बाँस्तोलाका अनुसार, अस्पतालको १५ शय्याको अनुमतिप्राप्त संरचनामा अहिले ६४ शय्या सञ्चालनमा छन्। जनशक्ति सीमित रहे पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर बहिरङ्ग सेवा सञ्चालन गरेर बिरामीको चाप व्यवस्थापन गरिँदैछ।

उनले बताए, “भर्ना गरेर राख्नेगरी ओपिडीका २६ वटै शय्या भरिएका छन्। चिसो सुरु भएसँगै बिरामीको सङ्ख्या हरेक वर्ष यो समयमा बढ्छ, यस वर्ष अझ बढी चाप परेको छ।”

जनरल वार्डका शय्या भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई आकस्मिक कक्षका शय्यामा राखिएको छ। आकस्मिक उपचारका बिरामीका लागि ठाउँ अभाव हुँदा केही बिरामीलाई भुइँमा राखेर पनि उपचार गर्नुपर्ने अवस्था आएको डा. बाँस्तोलाले बताए।

अस्पतालका चिकित्सक डा. एनिस श्रेष्ठका अनुसार हाल सिजनल फ्लुका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता समस्या बढेका छन्। “एकै दिनमा १८ बालबालिकासम्म भर्ना गरेर उपचार गर्नुपरेको छ,” उनले बताए।

त्यस्तै, ज्येष्ठ नागरिकहरूमा दम, एलर्जी र श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ। अस्पतालको आकस्मिक कक्षमा दैनिक ४० जनासम्मले सेवा लिइरहेका छन्।

डा. बाँस्तोलाले भने, “अस्पतालको जनशक्ति, शय्या र उपकरण सीमित छन्। चिसो बढेसँगै सिजनल रोगहरूको सङ्ख्या अझ बढ्ने सम्भावना भएकाले स्थानीय निकाय र प्रदेश सरकारले समयमै सहयोग गर्न जरुरी छ।”