© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

काठमाडौँ, १५ कात्तिक । नेपाल चिकित्सक संघले स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई विस्तृत सुझाव दिएको छ।
संघका अध्यक्ष डा. अनिल विक्रम कार्की नेतृत्वको टोलीले आज मन्त्री गौतमलाई भेटी कार्यकालको शुभकामना दिँदै स्वास्थ्य सेवा प्रणाली सुदृढीकरणका विषयमा लिखित सुझावहरू प्रस्तुत गरेको हो।
संघले प्राथमिक स्वास्थ्य संरचना मजबुत बनाउन, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथा सङ्घीय, प्रादेशिक र स्थानीय तहबीच निगरानी र जवाफदेहिताको संयन्त्र स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएको छ।
भेटपछि जारी गरिएको विज्ञप्तिमा संघले प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै मानव स्रोत र समायोजनका समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ।
संघले सबै तहका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि “समान कामका लागि समान पारिश्रमिक” नीति लागू गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्नुपर्ने, कानुनी र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न सबै तहबीच सहकार्य र समन्वय आवश्यक छ। यसका लागि सरकारको सक्रिय पहल अपेक्षित छ।”