© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

काठमाडौं कार्तिक १७ — आन्दोलनरत नर्सहरुको माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयमा गठन भएको कार्यदलको बैठक सोमबार पनि बस्यो। तर कार्यदलकी सदस्य तथा नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाटले बैठकमा अनुपस्थित रहिन। उनले बैठकलाई ‘झुक्याउने’ प्रयास भएको बताइन्।
रानाभाटका अनुसार, केही दिनअघिको सहमतिमा असहमति रहेको र नेपाल नर्सिङ संघले ४८ घन्टे अल्टिमेटम दिइसकेको अवस्थामा बैठकमा बस्नु औचित्यपूर्ण नठानेको हो। सोमबार रानाभाटसहित अभियान्त जिता बराल र अन्य संघर्ष समितिका प्रतिनिधिहरु मन्त्रालय पुगेका थिए।
आन्दोलनरत नर्सहरुले आफ्नो माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आइतबार नेपाल नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि संघका प्रतिनिधि र आन्दोलनरत नर्सका प्रतिनिधिहरुबीच आकस्मिक छलफल भएको थियो। छलफलपछि संघले आन्दोलनरत नर्सहरुको मागअनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति जनाएको छ।
सरकारले नर्सिङको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ।