Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
समाचार

विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित

१० चैत्र २०८२ ०६:५६

काठमाडौं । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष मार्च २४ मा मनाइने यस दिवसले क्षयरोग नियन्त्रण, रोकथाम तथा जनचेतना अभिवृद्धिमा विशेष जोड दिने उद्देश्य राखेको छ।
World Health Organization (डब्लुएचओ) का अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। विश्वभर पनि प्रत्येक वर्ष करिब ८० लाख नयाँ क्षयरोगी थपिने गरेको तथ्यांकले देखाउँछ। नेपालमा यो रोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय का अनुसार देशभर ६ हजार २ सय ४१ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध छ। त्यसमध्ये ७ सय ८५ संस्थामा माइक्रोस्कोपी सेवा तथा १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा रहेका छन्।
मन्त्रालयले औषधि प्रतिरोधी क्षयरोग नियन्त्रणका लागि ३१ वटा उपचार केन्द्र र ९८ वटा उपकेन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। साथै, १ सय ४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरी सक्रिय रूपमा कार्यान्वयन गरिएको छ।
सरकारले सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने दीर्घकालीन लक्ष्य लिएको छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा समुदायस्तरमा जनसहभागिता आवश्यक रहेको मन्त्रालयले जनाएको छ।
विशेषज्ञहरूका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, तौल अचानक घट्ने, अत्यधिक पसिना आउने र थकान महसुस हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने हुन्छ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा क्षयरोगको संक्रमण छिटो फैलिन सक्ने भएकाले समयमै परीक्षण र उपचार अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। जनचेतना अभिवृद्धि, नियमित परीक्षण र उपचारमा निरन्तरतामार्फत मात्र क्षयरोग नियन्त्रण सम्भव हुनेमा जोड दिइएको छ।