Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
पशु स्वास्थ्य

बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप

१७ बैशाख २०८१ १३:१४

ढोरपाटन (बागलुङ), १७ वैशाख : बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा जिल्लाका १० वटै स्थानीय तहका दुई लाख ३५ हजार पशुमा खोप लगाउने लक्ष्यअनुसार खोप अभियान सञ्चालन गरिराखेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिनुभयो । पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपीआर र स्वाइन फिवर लगायतका खोप लगाइएको सापकोटाको भनाइ छ ।

गत माघ महिनादेखि सुरु गरिएको खोप अभियानमा हालसम्म ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिका पशुलाई खोप लगाइसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हालसम्म १८ हजार दुई सय ९६ गाईगोरु र २९ हजार छ सय १५ राँगा भैँसीलाई खोरेतविरुद्धको खोप लगाएको छ । करिब ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पिपिआर खोप लगाएको पशु स्वास्थ्य अधिकृत शर्माको भनाइ छ । त्यसैगरी सात सय २८ बङ्गुरलाई स्वाइन फिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । छ स्थानीय तहका सात हजार चार सय ९८ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको शर्माले जानकारी दिनुभयो ।

यतिबेला गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । बागलुङ र काठेखोलामा वैशाख १८ गतेदेखि खोप लगाउन सुरु गरिने कार्यालय प्रमुख सापकोटाको भनाइ छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल, राजनीतिक दल, जनप्रतिनिधिलगायतसँग विभिन्न छलफल र परामर्श सम्पन्न गरेपछि हरेक स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने काम गरेको हो ।

केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५÷१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए । अघिल्ला वर्षमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने कृषक पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी भएको सापकोटाले बताउनुभयो ।

गत वर्ष पशुमा देखिएको लम्पीस्किन रोगका कारण तर्सिएका किसान खोपकै कारण उक्त रोगबाट पशुलाई जोगाउन सकिएपछि अन्य रोगको खोप पनि लगाउनुपर्नेमा सहमत भएर थप सजग भएको उहाँको भनाइ छ । गाई, बाख्रा र भैँसीमा बेलाबेलामा देखिने सङ्क्रमणबाट आजित भएका किसान यसपटक आफ्ना पशुलाई खोप लगाइदिनु पर्याे भन्दै भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताउनुभयो ।

सापकोटाले भन्नुभयो, “जिल्लाका १० वटै पालिकाका करिब साढे दुई लाख पशुलाई पोख लगाउने योजना थियो, सबै गाउँगाउँमा पशु प्राविधिक खटाएर खोप लगाएका हौँ, अब केही पालिकामा लगाउनै बाँकी छ, जेठको अन्तिमसम्म सकिनेछ ।”