Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

१७ बैशाख २०८१ १३:२३

काठमाडौँ, १७ वैशाख: बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै सचेतामूलक विषय समावेश गर्न जरुरी रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

गैरसरकारी सङ्स्था सिविनले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्य गर्न विद्यालय तहदेखि नै सचेतना अभिवृद्धि र पुरुषको सहयोगका विषय पाठ्यपुस्तकमा समावेश गरिनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख ममता विष्टले लैङ्गिक हिंसा अन्त्यमा भएका सरकारी पहल र प्रावधानका विषयमा प्रस्तुति दिँदै बालविवाह अन्त्यका लागि सबैको सहयोग जरूरी रहेको बताउनुभयो ।

उहाँले मन्त्रालयले गठन गरेको लैङ्गिक हिंसा अन्त्यका लागि पुरुष सञ्जाल र सञ्जाल सक्रिय बनाउन भइरहेका प्रयासबारे समेत जानकारी दिनुभएको थियो । सिविन नेपालका प्रतिनिधि निरिजना भट्टले समाजमा व्याप्त लैङ्गिक हिंसासँग सम्बन्धित घटना न्यूनिकरणका लागि थप क्रियाशीलताको खाँचो औँलयाउनुभयो ।

‘बालिका दुलही होइनन्’ भन्ने अभियानका प्रमुखसमेत रहेका भट्टले भन्नुभयो,“समाजमा व्याप्त लैङ्गिक हिंसाका थुप्रै कारण छन्, त्यसको न्यूनीकरणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ ।” सिविन नेपालले सञ्चालन गर्दै आएको बाल हेल्पलाइन नेपाल मोरङ् १०९८ का संयोजक वासु अधिकारले मोरङको बुढीगङ्गा गाउँपालिकाको मुसहर समुदायमा बालबालिको भयावह अवस्था रहेको र त्यसविरुद्ध स्थानीय तहसँगको सहकार्यमा काम गर्दैआएको बताउनुभयो ।

कार्यक्रममा लैङ्गिक हिँसा अन्त्यका लागि पुरुष सहभागितासम्बन्धी रणनीति २०७४ को प्रभावकारिता र आवश्यक परिमार्जन लगायतका विषयमा समेत छलफल भएको थियो । सहभागीले सरकारी रणनीतिमा अझै पनि लैङ्गिक अल्पसङ्ख्यकका विषय नसमेटिएका गुनासो गर्नुभयो ।