Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

२७ जेष्ठ २०८१ १९:२६
काठमाडौँ, २७ जेठ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ ।  बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु एक देखि तीन लाखसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिनुभयो । “मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उहाँले भन्नुभयो ।
ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स(रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् ।
ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।