Trending
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु     |     स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |    
समाचार

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

२७ जेष्ठ २०८१ १९:२६
काठमाडौँ, २७ जेठ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ ।  बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु एक देखि तीन लाखसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिनुभयो । “मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उहाँले भन्नुभयो ।
ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स(रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन् ।
ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।