Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

‘मधेश टु महाभारत’ यात्रा: उल्टो मोटरसाइकलमा अनौठो सांस्कृतिक अभियान

१२ जेष्ठ २०८२ १२:०६

बर्दिवास, महोत्तरी, १२ जेठ –
कला र संस्कृतिको संरक्षण तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बर्दिवासका जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा सुरु गरिएको ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सफलतापूर्वक सम्पन्न भएको छ ।

जेठ ९ गते बर्दिवासबाट सुरु भएको यो अनौठो यात्रा सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कलाघरसम्म पुगेको हो । “मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक” भन्ने नाराका साथ पोखरेल नेतृत्वको २५ सदस्यीय टोलीले यात्रा अवधिभर विविध सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागिता जनाएको थियो ।

कार्यक्रमका संयोजक सुबोध कट्टेलका अनुसार यो अभियानको मुख्य उद्देश्य मौलिक कला र संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटन र स्वास्थ्यबीचको सम्बन्धलाई प्रोत्साहन गर्नु रहेको छ । “संस्कृति, स्वास्थ्य र पर्यटनलाई जोड्दै समाजमा सकारात्मक सन्देश फैलाउनु हाम्रो लक्ष्य हो,” उनले बताए ।

यात्राको प्रमुख आकर्षण उल्टो मोटरसाइकलमा यात्रा गर्ने पोखरेल विगतदेखि नै यस्ता अनौठा यात्रामा सक्रिय रहँदै आएका छन् । वि.सं. २०६३ सालमा उनले शान्तिको सन्देश बोकेर मेचीदेखि महाकालीसम्म उल्टो साइकल यात्रा गरेका थिए । पछिल्ला केही वर्षदेखि उनी उल्टो मोटरसाइकल कुदाउने अभ्यासमा लागिपरेका छन् ।

पेशाले स्वास्थ्यकर्मीसमेत रहेका पोखरेल एक गायकको रूपमा पनि चिनिन्छन् । उनका आधा दर्जनभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन् । हाल उनी यस किसिमको विशिष्ट यात्रामार्फत गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने तयारीमा छन् ।

उक्त अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो भने वडा नं. १ र ३ को सहकार्य र गौरीवास युथ क्लबको सक्रिय सहभागिता उल्लेखनीय रह्यो ।