Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

चिकित्सा शिक्षा आयोग पुनर्संरचनाको माग

२४ श्रावण २०८२ २१:०२

काठमाडौँ, २४ साउन — चिकित्सा शिक्षा आयोगलाई समायोजनसहित पुनर्संरचना गर्नुपर्नेमा विज्ञ, सांसद र सरोकारवालाले जोड दिएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘नेपाल चिकित्सा शिक्षा : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आयोगको वर्तमान संरचना अपेक्षित नतिजा दिन नसकेको भन्दै सुधार आवश्यक रहेको धारणा राखे।

प्रतिनिधि सभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले प्रक्रिया पूरा गरेका नर्सिङ कलेजलाई स्वीकृति दिनुपर्ने र निजी–सरकारी मेडिकल कलेजलाई एउटै मापदण्डमा नहेर्नुपर्ने बताए। उनले सरकारी कलेज नाफारहित र निजी कलेज नाफासहित सञ्चालन हुने भएकाले स्पष्ट विभाजन आवश्यक रहेको उल्लेख गरे।

सांसद लिलादेवी लिम्बु, प्रा.डा. चन्दा कार्की, ईश्वरी घर्तीलगायतले क्षेत्रीय समानता, गुणस्तरीय पाठ्यक्रम, प्रभावकारी लगानी र नियमनमा जोड दिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले सिट संख्या पर्याप्त भएकाले अब गुणस्तरमा ध्यान दिनुपर्ने बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भूसाल, काठमाडौँ विश्वविद्यालयका प्रा.डा. मनोज हुमागाई, आयोगका निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठालगायतले जनशक्ति उत्पादन नीति, प्रवेश परीक्षा प्रणाली र गुणस्तर सुनिश्चिताका लागि मापदण्ड तय गर्नुपर्ने धारणा राखे।

निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका पदाधिकारीहरूले निजी क्षेत्रले सेवा र लगानी दुवैमा योगदान दिएको र भारतका विद्यार्थीलाई आकर्षित गर्न सके चिकित्सा पर्यटनमार्फत ठूलो आर्थिक आम्दानी सम्भव हुने दाबी गरे।

कार्यक्रममा नीतिगत, प्राविधिक र व्यावहारिक सुधारमार्फत चिकित्सा शिक्षा प्रणालीलाई समकालीन आवश्यकताअनुसार पुनर्संरचना गर्ने सहमति बनेको आयोजक मञ्चले जनाएको छ।