Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

गण्डकीमा डेङ्गी र सापुको दोहोरो जोखिम, चिकित्सकको विशेष सतर्कता आग्रह

२९ भाद्र २०८२ २०:४१

गण्डकी, २९ भदौ । गण्डकी प्रदेशमा पछिल्लो समय एकैसाथ डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु) रोगको सङ्क्रमण बढ्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत पुसयता ११ वटै जिल्लामा गरी हालसम्म ९६४ जनामा डेङ्गी पुष्टि भएको छ । सबैभन्दा बढी कास्कीमा ५०३ जना र सबैभन्दा कम मुस्ताङ तथा मनाङमा एक–एक जनामा संक्रमण देखिएको छ ।

यस्तै, गत सातादेखि सापुको संक्रमण देखिन थालेको छ । पोखरास्थित हिमालय आँखा अस्पतालका सूचना अधिकारी कुमार गर्बुजाका अनुसार हालसम्म पाँच जना बिरामी अस्पतालमा भर्ना भएका छन् । बागलुङ, कास्की र लमजुङका तीमध्ये दुई जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जना अझै उपचाररत छन् ।

हिमालय आँखा अस्पतालका मेडिकल निर्देशक डा. बबिता गुरुङले सापु रोग सेतो पुतली को सम्पर्कबाट हुने गरेको बताउँदै सावधानी अपनाउन आग्रह गर्नुभयो । “यो रोग लागेको ४८–७२ घण्टाभित्र उपचार नभएमा दृष्टि गुम्ने खतरा हुन्छ,” उहाँले चेतावनी दिनुभयो । अहिलेसम्म तीन बिरामीमा शल्यक्रिया समेत गरिएको अस्पतालले जनाएको छ ।

डा. गुरुङका अनुसार सापु लागेमा आँखा अचानक रातो हुने, चिप्रा लाग्ने, उज्यालो सहन नसक्ने, दृष्टि धमिलो हुने, आँखाको नानी सेतो हुँदै जानेजस्ता लक्षण देखिन्छन् । “समयमै उपचार भएमा पूर्ण रूपमा निको हुन्छ, ढिलाइ भयो भने आँखा नै सुक्ने वा दृष्टि गुम्ने खतरा हुन्छ,” उहाँले बताउनुभयो ।

डेङ्गीसम्बन्धी जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीका अनुसार एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले घर वरिपरि पानी जम्न नदिनु नै मुख्य बचाउ हो । “यो लामखुट्टे दिनमा पनि टोक्ने भएकाले दिउँसो विशेष सतर्कता अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

धवलागिरि अस्पतालका चिकित्सक प्रभात सिंहका अनुसार वर्षा रोकिएपछि घमाइलो मौसममा दुवै रोगको संक्रमण छिट्टै फैलन सक्छ । डेङ्गी लागेपछि वान्ता, नाक वा मुखबाट रगत आउनु, कालो दिसा, थकान जस्ता लक्षण देखिए तुरुन्त अस्पतालमा उपचार गर्नुपर्ने उहाँको भनाइ छ ।

चिकित्सकहरूले असोजदेखि मङ्सिरसम्म डेङ्गी र सापु दुवैको जोखिम उच्च रहने भएकाले सर्वसाधारणलाई थप सतर्कता अपनाउन आग्रह गरेका छन् । डेङ्गीबाट बच्न सरसफाइ र लामखुट्टे नियन्त्रण गर्नुपर्ने, सापुबाट जोगिन भने सेतो पुतलीको सम्पर्कबाट टाढा रहनु पर्ने उनीहरूको सुझाव छ ।