Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

बीमाको औषधि गुणस्तरीय हुँदैन भन्ने कुरा गलत : स्वास्थ्यमन्त्री

२४ कार्तिक २०८२ १६:२३

काठमाडौं, कात्तिक २४ — स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत वितरण गरिँदै आएका निःशुल्क औषधिहरू गुणस्तरहीन भएको आरोपलाई निराधार र भ्रामक बताएकी छन्।

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै मन्त्री गौतमले सो आरोपलाई जनताको स्वास्थ्यमा भ्रम फैलाउने प्रचार भन्दै त्यसमा विश्वास नगर्न आग्रह गरिन्।

उनले भनिन्, “स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध हुने औषधि सबै परीक्षण र स्वीकृति प्रक्रियाबाट गुज्रिएका हुन्छन्। केही व्यक्तिहरूले स्वार्थका लागि गलत प्रचार गरिरहेका छन्, जनताले त्यस्तो भ्रममा पर्नुहुँदैन।”

मन्त्री गौतमका अनुसार केही निजी औषधि व्यवसायीहरूले बजारमा बिक्री घटेको कारण गलत प्रचारमा उत्रिएका हुन सक्छन्। उनले त्यसप्रति सचेत रहन आग्रह गर्दै सरकारले औषधिको गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारिन्।

उनले थपिन्, “स्वास्थ्य बीमा कार्यक्रम सुधारको क्रममा छ। केही प्राविधिक र व्यवस्थापकीय समस्या क्रमशः समाधान हुँदै छन्। सेवा प्रवाहमा आएको गुनासो छिट्टै सम्बोधन हुनेछ।”

मन्त्री गौतमले नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै, सुशासन कायम गर्न मन्त्रालयले कडाइका साथ काम गरिरहेको बताइन्।

त्यस्तै उनले स्थानीय तहमा औषधि अभावका गुनासो बढ्दै गएको उल्लेख गर्दै, निःशुल्क औषधि सबैसम्म पुगोस् भन्ने लक्ष्यका साथ केन्द्र सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

“निःशुल्क औषधि वितरण प्रभावकारी बनाउन स्थानीय तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ,” मन्त्री गौतमले भनिन्, “केन्द्र सरकारले त्यसका लागि आवश्यक बजेट र प्राविधिक सहयोग उपलब्ध गराउनेछ।”

कार्यक्रमका अवसरमा अस्पतालमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चिकित्सक, नर्स र कर्मचारीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।
अस्पतालका निर्देशकले सरकारको सहयोगमा थप उपचार सेवा विस्तार गर्ने योजना रहेको जानकारी पनि दिएका थिए।