Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
फर्मा

काठमाडौँमा आगामी फागुनमा १० औं ‘नेपाल फर्मा एक्स्पो’ हुने

२७ कार्तिक २०८२ ०८:४६

काठमाडौँ, २७ कात्तिक – औषधी उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा १० औं ‘नेपाल फर्मा एक्स्पो’ आगामी फागुनमा हुने भएको छ। यसअघि लगातार रूपमा चितवनको भरतपुरमा हुँदै आएको यो एक्स्पो यसपटक पहिलोपटक राजधानी काठमाडौँमा आयोजना गर्न लागिएको हो। एक्स्पोका संयोजक सन्तोष बरालका अनुसार, औषधि उद्योग, उत्पादन, गुणस्तर र प्रविधिको प्रचार–प्रसारका साथै औषधि उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव र जानकारी आदानप्रदान गर्न यो एक्स्पो उपयोगी हुने अपेक्षा गरिएको छ।

एपोनले हरेक दुई वर्षमा औषधि उद्योगका नयाँ प्रविधि र नवप्रवर्तनहरू प्रदर्शन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्दै आएको छ। यस वर्षको एक्स्पो फागुन २८ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। कार्यक्रममा नेपालका विभिन्न औषधि उत्पादक कम्पनीहरूका साथै भारत, बङ्गलादेश, चीन लगायतका देशका औषधि तथा मेडिकल उपकरण उत्पादक र आपूर्तिकर्ता कम्पनीहरूले पनि सहभागिता जनाउने तयारी गरिएको छ।

संयोजक बरालका अनुसार, एक्स्पोले देशकै औषधि उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने अवसर दिलाउनेछ। साथै यसले स्वदेशमै औषधि उत्पादन प्रवर्द्धन, औद्योगिक विकास र आत्मनिर्भर स्वास्थ्य प्रणाली निर्माणमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

एपोनका अनुसार, नेपालमा हाल करिब ७० प्रतिशत भन्दा बढी सामान्य औषधिहरू आन्तरिक रूपमा उत्पादन हुँदै आएका छन्। यसलाई अझ सबल र गुणस्तरीय बनाउन सरकारी नीति, अनुसन्धान, लगानी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

१० औं नेपाल फर्मा एक्स्पोमा नयाँ औषधि प्रविधि, उपकरण, अनुसन्धान परिणाम र औद्योगिक नवप्रवर्तनहरू प्रदर्शन गरिनेछ। साथै सेमिनार, व्यवसायिक अन्तरक्रिया, र प्रविधिमूलक प्रस्तुतीहरू समेत हुने आयोजकले जानकारी दिएको छ।