Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
फर्मा

अदालतको आदेशपछि चिकित्सक संघ निर्वाचनका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

६ माघ २०८२ २०:०७

काठमाडौँ, ६ माघ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले गत २ पुसमा मनोनयन दर्ता गराएका सबै चिकित्सकको उम्मेदवारी कायम गरेको छ।
निर्वाचन समितिले मंगलबार राति उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्दै यसअघि खारेज गरिएका भनिएका चिकित्सकहरूको नामसमेत समावेश गरेको हो। अदालतको आदेशको मर्मअनुसार २ पुसमा निर्वाचन समिति समक्ष मनोनयन फाराम पेस गरी तोकिएको दस्तुर शुल्क बुझाएका सदस्यहरूको उम्मेदवारी कायम गरी अन्तिम नामावली प्रकाशन गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रयानरत्न शाक्यले जानकारी दिए।
तर, निर्वाचनको मिति भने अझै सार्वजनिक भएको छैन। निर्वाचन समितिले विधानविपरीत काम गरेको भन्दै यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढाउन माग गर्दै डा. अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन प्रक्रिया रोकिएको हो। समितिले छिट्टै नयाँ निर्वाचन मिति सार्वजनिक गर्ने जनाएको छ।
उच्च अदालत पाटनले आजै छलफलका लागि बोलाएकाले बेलुकासम्म नयाँ निर्वाचन मिति सार्वजनिक हुने अनुमान गरिएको छ।
यसअघि उपाध्यक्ष एवं बागमती प्रदेश संयोजकका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी खारेज भएपछि आफूलाई अन्याय भएको भन्दै उनी जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालत पाटन पुगेका थिए। त्यसपछि उम्मेदवारी खारेजीमा परेका अन्य उम्मेदवारहरूले पनि अदालतको शरण लिएका थिए। अदालत पुगेका सबै उम्मेदवारले आफ्नो पक्षमा अन्तरिम आदेश प्राप्त गरेका छन्।
नेपाल चिकित्सक संघको निर्वाचनमा डा. मंगल रावल समूह, डा. बद्री रिजाल समूहसहित तीन समूहबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ।