Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने प्रतिबद्धता

७ फाल्गुन २०८२ २०:४०

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले ‘समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ मूल नारासहित ८० पृष्ठीय चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले काठमाडौंमा आयोजित एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समेटिएको छ। पार्टीले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ। सबै नागरिकको पहुँचमा पुग्ने गरी स्वास्थ्य पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा दक्ष जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने उल्लेख गरिएको छ।

स्वास्थ्य बीमामा देखिएका वित्तीय तथा व्यवस्थापकीय समस्या समाधान गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा समावेश छ। बीमा प्रणालीलाई संरचनात्मक र सञ्चालनगत सुधार गरी दिगो बनाउने, स्वास्थ्य बीमा र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम क्रमशः एकीकृत गर्ने तथा दोहोरो वित्तीय बोझ अन्त्य गर्ने योजना अघि सारिएको छ।

यस्तै, आधारभूत, प्राथमिक र समग्र प्राथमिक स्वास्थ्य सेवाबीच स्पष्ट परिभाषा, सेवा प्याकेज र वित्तीय जिम्मेवारी कानूनमै स्पष्ट गर्ने उल्लेख छ। योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, आम्ची र होमियोप्याथीलगायत परम्परागत तथा वैकल्पिक चिकित्सा प्रणालीलाई आधुनिक चिकित्सासँग समन्वय गर्ने नीति पनि समेटिएको छ।

घोषणापत्रमा आधुनिक प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोगमार्फत स्वास्थ्य प्रणालीलाई अत्याधुनिक बनाउने, स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्ने तथा चिकित्सा शिक्षाको गुणस्तर र पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, स्वास्थ्य क्षेत्रमा सार्वजनिक, निजी र सहकारी लगानी अभिवृद्धि गर्दै पारदर्शी र उत्तरदायी व्यवस्थापन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

एमालेले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्दै सर्वव्यापी र गुणस्तरीय सेवा सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।