Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह

२६ फाल्गुन २०८२ २०:३९

काठमाडौँ। काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरे । ‘केही समययता उपत्यकालगायत मुलुकको अधिकांश स्थानमा मौसम सफा हुन सकेको छैन, घाम लागेको छैन र वर्षा पनि हुन सकेको छैन । हावा पनि चलेको छैन,’ उनले भने, ‘मौसम सफा भएसँगै प्रदूषण कम हुने छ, वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन जरुरी छ ।’

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले आजदेखि नै मौसममा सुधार आउने र तुवालो हटेर जाने बताए । मौसम सफा भएपछि मात्रै वायु प्रदूषण पनि कम हुने वातावरण विभागले जनाएको छ ।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार आज ४ बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक १७४ पुगेको छ । यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

वातावरणविद् भुषण तुलाधारले प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक रहेको र व्यापक जनचेता जरुरी रहेको बताए । एक्युआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । एक सय एकदेखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।