Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
पशु स्वास्थ्य

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

१५ बैशाख २०८१ ११:२९

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् । “दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने”, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आउनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भने, “मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।”

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको रु छ सय २५ तिरेर किनेको बताए । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उहाँको भनाइ छ । त्यसैगरी राजापुर नगरपालिका–९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताए ।

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । “दैनिक ४० देखि ५० जना नयाँ बिरामी आउँछन्, त्यति नै सङ्ख्यामा पुराना बिरामी पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामी यहाँ आउँछन्” भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भने, “अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौँ ।”

उनका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उहाँले बताए। अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।