Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

डेङ्गुको सङ्क्रमण बढ्दै,सुदूरपश्चिमका केहि जिल्लाहरुमा

२ श्रावण २०८१ २१:००
सुदूरपश्चिम, २ साउन । सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेङ्गुको सङ्कमण दिनानुदिन बढ्न थालेको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिना यता प्रदेशमा एक सय ६१ व्यक्ति डेङ्गु रोगबाट सङ्क्रमित भएको पाईएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलमा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले जानाकारी दिएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए । उनले भने, “आसारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।” लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताए ।
गत वर्ष प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।
यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् । नाक, गिँजा र पेटबाट रगत बग्नेजस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुनसक्ने चिकित्सकले बताउने गरेका छन् ।
खुला भाँडा, गमला, साइकल वा गाडीका टायर र खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धिविकास हुने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिन र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्न ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । त्यसैले आवश्यक सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ ।