Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

नेपालमा ९१ प्रतिशतले एचआइभीको सङ्क्रमण घट्यो

१६ मंसिर २०८१ २०:०५

काठमाडौँ, १५ मङ्सिर ः नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीको सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार एक सय जना नयाँ सङ्क्रमित भेटिएका थिए ।
उनले सरकारले एचआइभि उपचारमा उल्लेखनिय काम गरेकोले नयाँ सङ्क्रमति कम भइरहेको बताए ।

उनले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएर घटेको बताए ।

“हामीले सङ्क्रमितको पहिचान गरेर औषधि पद्दतिलाई राम्रो बनाएका छौँ”, उनले भने “सबै सङ्क्रमित उपचारमा ल्याएका छौ । ति उपचारमा रहेका सङ्क्रमितले औषधि आएपछि अरुलाई सार्दैनन र सङ्क्रमित पनि कम हुँदै गएका छन्।” औषधि खानेहरुको शरिरमा भाइरसको भार पनि न्यून हुने गरेको उनले बताए ।

उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि सेवन गरिरहेका छन् । औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सन् २०२३ सम्म नेपालमा ३० हजार तीन सय जना व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । विश्वमा आठ करोड ८४ लाख मानिस एचआइभी सङक्रमित र चार करोड २३ लाख व्यक्तिको एड्सको कारणले मृत्यु भइसकेको छ । सन् २०२३ मा विश्वमा १३ लाख मानिस एचआइभी सङक्रमित भएका थिए ।

यस्तै एचआइभिबाट मृत्यु हुनेको सङख्यामा पनि कमि आएको छ । सन् २०२३ मा २३१ जनाको सङक्रमणको कारणले मृत्यु भएको छ । । सन् २०१० मा एक हजार ७०० जना व्यक्तिको एड्सको कारणले मृत्यु हुने गरेको थियो । नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभि एड्स देखिएको थियो ।

निर्देशक डा शर्माले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए । “अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन”, उनले भने, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।”

उनले एचआइभी सङक्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए ।

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् ।

तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ ।
यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङक्रमण रहेको पाइएको छ ।

सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीमा ०.२ प्रतिशत सङ्क्रमण रहेको पाइएको छ ।
नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।
सोही योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र ९५ प्रतिशतको शरिरमा भाइरसको भार न्यून गर्ने योजना सरकारको रहेको छ ।

केन्द्रका निर्देशक ढा. शर्माका अनुसार लक्ष्य एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचारमा र ७४ प्रतिशतको शरिरमा भाइरसको भार न्यून भइसकेको जानकारी दिए ।

अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ ।
डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३७ औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सवैको सुनिश्चतता गरौ’ भन्ने नाराका साथ मनाइँदै छ ।