Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
लोकप्रिय

परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन

२ बैशाख २०८२ २२:२१

काठमाडौं- मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ। अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गरे।

ल्याबमार्फत नर्सिङ्ग, अनमी, मिडवाइफ तथा चिकित्सकहरुको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ।

बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याब अस्पताल  र  युएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वर्ल्डवाइडको संयुक्त लगानीमा निर्माण गरिएको हो।

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संल्गन जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्री अधिकारीले बताए।

ल्याब उद्घाटन गर्दै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गरे।  ‘यो ठूलो कुराजस्तो नदेखिएला,’ उनले भने, ‘तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्वपूर्ण शुरुवात गरेको छ।’

अस्पतालले प्रतिष्ठानसरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताए। ‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौं,’  उनले भने ।

मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गरे।  २०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शैय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ ।

अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवा अन्तर्गत  निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा शुरु गरेको निर्देशक डा अधिकारीले बताए ।  पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको उनको भनाइ छ।

बर्थिङ सेन्टरको क्षमता वृद्धि 
अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गरेका छन् । यसअघि अस्पतालमा ८ जनाको क्षमता रहेकामा अब थप ४ जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ ।

दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ।