Trending
भरतपुर अस्पतालले स्वास्थ्य बीमाबाट पाउनुपर्ने रकम एक अर्ब नाघ्यो, सञ्चालनमै संकट     |     वीरगञ्जमा हैजाको आतंक, संक्रमित ९३ पुग्दा अस्पतालहरूमा चाप     |     भेरी अस्पतालमा निःशुल्क डायलायसिस सेवा सुरु     |     ट्रमा सेन्टरमा आधुनिक प्रविधिबाट मेरुदण्ड शल्यक्रिया सफल     |     बिरगंजमा हैजा नियन्त्रणका लागि सरकार र WHO सक्रिय     |     चितवनमा स्क्रब टाइफसबाट महिलाको मृत्यु, संक्रमितको संख्या ७३ पुग्यो     |     हैजा नियन्त्रणका लागि वीरगञ्जका सामुदायिक तथा निजी विद्यालय आइतबार र सोमबार बन्द     |     कान्तिपुर डेन्टल कलेज र भारतको माइन्डस् बीच शैक्षिक सहकार्य सम्झौता     |     वीरगञ्जमा हैजाको प्रकोप : दुई दिनमै २८ संक्रमित, दुईको मृत्यु, विद्यालय बन्द     |     विपन्न नागरिक उपचार कार्यक्रम अब स्वास्थ्य बीमा बोर्डमार्फत     |    
स्वास्थ्य समाचार

दाङको भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार

१५ बैशाख २०८२ १४:५९

भालुबाङ अस्पतालको मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन, विशेषज्ञ सेवा विस्तार
भालुबाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो । अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउने गरी सरकार अघि बढेको उल्लेख गर्नुभयो । दुर्गम क्षेत्रका अस्पतालहरूमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताउनुभयो ।

नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो ।`सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने तर अन्य अस्पतालहरूमा जनशक्ति नहुने अवस्थालाई अन्त्य गर्न चाहन्छौं´मुख्यमन्त्री आचार्यले भन्नुभयो`सरकारले यस्ता समस्यालाई गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौं ।´

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताउनुभयो । साथै, अस्पतालको जग्गा प्राप्तिको विषयलाई छिटो टुंगोमा पुर्‍याउन जोड दिनुभयो ।

स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, `स्वास्थ्य संस्थामा जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिएको छ । गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै नवीन उपकरणहरूको प्रयोगमा ध्यान दिएका छौं । स्वास्थ्य संस्थाहरूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ ।´

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालको रूपमा अगाडि बढेको जानकारी दिनुभयो । २०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो ।

अस्पतालमा जटिल प्रसूति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ । साथै, सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको जानकारी गराइएको थियाे ।