Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

भारतीय क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनको नेपालमा अवैध अभ्यास मेडिकल काउन्सिलले गृहप्रशासनलाई लेख्यो कारबाहीका लागि पत्र

१८ बैशाख २०८२ २१:३०

काठमाडौं- भारतीय क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले नेपालमा अवैध अभ्यास गरिरहेको पुष्टि भएको छ।

नेपाल मेडिकल काउन्सिलले उनको लाइसेन्स नविकरण नगरेपनि अभ्यास गरिरहेको काउन्सिलको छानविनमा समेत पाइएको थियो। विदेशी चिकित्सक दर्ता सम्बन्धी हेर्ने काउन्सिलको  कमिटी (एफएनडी)ले  कारबाहीको निर्णय गरेको हो। जुन कमिटिको अध्यक्ष रहेका डा अनिल कार्कीले भने,  ‘काउन्सिल लाइसेन्स बिना चिकित्सा अभ्यास गरिएको भेटिएपछि हामीले कारबाहीको निर्णय गरेका हौं।’

उक्त कमटीको निर्णय अनुसार गृह प्रशासनलाई पत्र लेखि पठाएको काउन्सिलका रजिष्ट्रार डा सतिश देवले जानकारी दिएका छन्। उनका अनुसार गृहप्रशासनका साथै लाइसेन्स नवीकरण नगरी काममा लगाउने चितवन मेडिकल कलेजलाई समेत पत्र लेखिएको छ। डा देवले भने,  ‘लाइसेन्स नवीकरण नगरेको चिकित्सकलाई काममा लगाउन पाइदैन। त्यसैले काममा लगाउने संस्थालाई पनि पत्र लेखिएको हो।’

नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ। उपदफा १ मा भनिएको छ,  ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

डा बर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।

डा बर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’  भएको छैन। रजिष्ट्रार देवका अनुसार उनको अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ।

डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। सुरुमा उनले बीएण्डबी अस्पतालमा केही वर्ष काम गरेका छन्। त्योबेला पनि उनले त्यहाँका लागि लाइसेन्स लिएर अन्य अस्पतालमा काम गरेको भन्दै विवाद भएको थियो। त्योबेला नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परेको रेकर्डमा देखिन्छ।

डा बर्मन ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा  समेत मुछिएका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र  जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ। उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो।