Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
समाचार

काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

८ जेष्ठ २०८१ १५:१६

काठमाडौँ, ८ जेठ : यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।

जनस्वास्थ्य कार्यालय, काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताउनुभयो । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ ।

“नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।