Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
समाचार

काठमाडौँका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने

८ जेष्ठ २०८१ १५:१६

काठमाडौँ, ८ जेठ : यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।

जनस्वास्थ्य कार्यालय, काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिनुभयो ।

उहाँले काठमाडौँ एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयम्सेविका परिचालन गरिने बताउनुभयो । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ ।

“नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उहाँको भनाइ छ ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।