© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य सेवालाई ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।
संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्।
स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ
यस्ता छन् बजेटमा स्वास्थ्यका विषय
निरोगी नेपालः स्वस्थ नेपाली स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिनेछ । आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ।
स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ। यस सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनेछ । बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिनेछ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराइनेछ। बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइनेछ, चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१० अर्ब विनियोजन गरेको छु। साथै, हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको छु।
उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिनेछ। सातै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार गरिनेछ । फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग गर्ने व्यवस्था मिलाइनेछ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधीहरूको आपूर्ति सुनिश्चित गरिनेछ। वितरण गरिएका औषधीको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि रु. २ अर्ब ६ करोड विनियोजन गरेको छु।
संक्रामक रोग र महामारीबाट सिर्जना हुने स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी एवम् प्रतिकार्यलाई प्रभावकारी बनाउन र डेङ्गी लगायत कीटजन्य रोगको नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु। थारू समुदायमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम् प्रविधि अवलम्बन गरिनेछ ।
स्वदेशमै जलनको गुणस्तरीय उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक-एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग
सञ्चालन गरिनेछ। वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ ।
कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ, तीलगङ्गा र रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरेको छु ।
निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ । निर्माण सम्पन्न भएका अस्पतालहरूलाई स्थानीय तह र समुदायको सहकार्यमा सञ्चालन गरिनेछ । यसका लागि रु. ११ अर्ब २४ करोड विनियोजन गरेको छु।
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गरिनेछ । अत्याधुनिक स्वास्थ्य सेवाको लागि रोवोटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिनेछ।
वीर अस्पतालबाट अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको छु। कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरिनेछ ।
पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । बालिका लक्षित एच. पी. भी खोप र चौध वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्न रकम विनियोजन गरेको छु ।
गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु. १३ अर्ब ८२ करोड विनियोजन गरेको छु । सबै प्रदेशमा अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरूको पहिचान, उपचार तथा पुनर्स्थापनाका लागि सेवा प्रारम्भ गरिनेछ ।
मनोसामाजिक परामर्श र सचेतना कार्यक्रममार्फत मानसिक स्वास्थ्य समस्या निराकरण गरिनेछ । मानसिक अस्पताल लगनखेलको क्षमता विस्तार गरिनेछ। काठमाडौं उपत्यका स्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरूदण्ड तथा स्नायु रोगको गुणस्तरीय उपचारका लागि राष्ट्रिय न्युरोसाईन्स केन्द्र स्थापना गरिनेछ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्न पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ । यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको छु ।
आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अक्युपञ्चर, आम्ची लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिनेछ। सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिनेछ । राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ । नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिनेछ ।
सुपथ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउन नियमन क्षमता अभिवृद्धि गरिनेछ। राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता विस्तार गरी सबै प्रकारका औषधीको गुणस्तर जाँच गरिनेछ ।
अत्यावश्यक औषधीको स्वदेशमै उत्पादन बढाउन सहजीकरण गरिनेछ ।
राष्ट्रिय जनसङ्ख्या नीति कार्यान्वयन गरी विकास र समृद्धिमा जनसाङ्ख्यिक लाभको उपयोग गरिनेछ। ‘विकास उकालो चढ्ने, मान्छे ओरालो झर्ने’ अवस्थालाई बदल्न ग्रामीण अर्थतन्त्रमा उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गरिनेछ । बसाइँसराइलाई व्यवस्थित गर्ने र जनसङ्ख्या वृद्धिदरलाई प्रतिस्थापन दरभन्दा कम हुन नदिने नीति लिइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ९५ अर्ब ८१ करोठ विनियोजन गरेको छु।