© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
काठमाडौँ, १६ असार : नेपालमा सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाउने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्बलता सम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ मा लामो समय सुर्तीसेवन गरेर छाडेकामा ८० प्रतिशतमा यौन दुर्बलता देखिएको उल्लेख गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद गरेको सर्वेक्षण अनुसार नेपालमा २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तिमध्ये ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ ।
त्यसै गरी मदिरा सेवन गर्नेहरूमा ६९ प्रतिशत र नगर्नेहरूमा ५९ प्रतिशत यौन दुर्बलता रहेको पाइएको छ ।
यस्तै अध्ययनमा ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा.खेमवहादुर कार्कीले जानकारी दिए ।
विश्वमा करिव महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको तथ्याङ्क रहेको छ ।
नेपालमा पहिलो पटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुष मध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्बलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ ।
उनले यौन दुर्बलता भएका मध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टी प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला, पुरुषले यौन चाहाना नै नहुने बताए ।
“यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उतेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनि सुख्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्” अध्ययनको प्रतिवेदनमा भनिएको छ ।
अध्ययनमा यौन दुर्बलता भएका ९० प्रतिशत भन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले जानकारी दिए ।
सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत रहेको छ ।
प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्बलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताए ।
यौनरोग विशेषज्ञ समेत रहनु भएका उहाँले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमानश्रीमती छुट्टिएर बस्नु पर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताए ।
यस्तै शारीरिक कारणहरूमा यौन अङ्गमा हुने सङ्क्रमण, श्रीमान वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन ।
यसैगरी सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौनदुर्वलता देखिएको छ ।
यस्तै यौन दुर्बलता मधुमेह, उच्च रक्तचाप भएका विरामीमा पनि हुने गरेको उहाँले बताउनुभयो ।
अध्ययनले १८ वा १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६८ प्रतिशत र २५ वर्ष पुरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशत भन्दा उच्च रहेको देखाएको छ ।
फलफुल र सागसब्जी सहितको स्वस्थकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्वलताको रहेको छ ।
प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्बलता दर कम रहेको पाइएको बताए ।
सोलिड नेपालले नेपालका सातवटै प्रदेशका ३४ वटा जिल्लाका तीन हजार ३८२ जना विवाहित महिला र पुरुषमा गत असारदेखि पुस महिनासम्म सर्वेक्षण गरिएको थियो ।